Sunday, June 01, 2014

बद्रि सरको तक्मा

यसपाली पनि तक्मा पाउनेहरुको नाम रेडियोले फुक्यो , पत्रपत्रिकामा छापियो, टेलीभिजनमा आयो  . झन्डै तिन सयको लिस्टमा पुरै मध्य र  सुदुर पश्चिमबाट ३ जना परेछन. दुई जना सिडियो अरे , चुनाव मा राम्रो काम गरेका रे , अनि एक जना चाहिं पुलिसका इन्स्पेक्टर  रैछन गृह मन्त्रिका जिल्लाका.

मुगु जिल्लाका सबैलाई  यसपाली त बद्री सरले  केहि न केहि पुरस्कार पाउँछन्  जस्तो लागेको थियो. हुन पनि किन नलागोस. बद्री कुमार झा नौ  बर्स पहिले गमगढीको माध्यमिक बिद्यालयमा बिज्ञान बिषय पढाउन आएका थिए. तराईको लवज भएका बद्रिलाई सुरुसुरमा कम्ती गाह्रो भएको थिएन टिक्नको लागि. विद्यार्थी ले जिस्क्याउँथे, स्थानीयले तेती मन पराउन्नथे. तर एक बर्समा नै उनले चमत्कार गरिदिय. उनको बिद्यालय बाट एसएलसीमा  बिज्ञान बिषय मा कोहि फेल भएनन. पास पनि पहिले भन्दा धेरै भए, ५ जना को त फर्स्ट डिभिजन नै आएको थियो. त्यसपछी त उनलाई जिस्क्याउने हरु चुप, उनको घरमा टिउसन पढ्ने हरु को चाप. उनले आफैंले पढाउने बिद्यालयका बिद्यार्थीहरुलाई चाहिं घर मा टिउसन पढाउन्नथे, स्कुल मा नै थप कक्षाको व्यवस्था गरेका थिये. त्यस पछी बद्री सर को बिद्यालयबाट बिज्ञान बिसयमा बिरलै फेल हुन् थाले बिद्यार्थीहरु.

उनि सबै बिधार्थी हरुलाई साइन्स  पढे अनेकन बाटाहरु खुल्छन भनेर प्रेरणा दिन्थे. उनि भन्थे  'मेरा बिद्यार्थी यो देश मात्र हैन विदेश मा पनि पुगुन, जहाँ पुग्छन त्यहिँ अब्बल बनुन, र कोहि यहिँ फर्केर आउन र आफुले जानेका कुरा अरु भाइ बहिनि लाई सिकाउन'.  उनका बिद्यार्थीहरु पनि  भन्ने गर्थे बद्रि सर साइन्समा छुरा छन्. उनलाई प्रत्येक सरल भाषामा बुझाउन सक्ने खुबी थियो, भन्नु पर्दा  उनीमा एक किसिमको जादु नै थियो, उनि आएपछी मात्रै त्यो बिद्यालयबाट १०  जनाले सरकारी छात्रवृत्तिमा  डाक्टर पढन पाएका छन्.  इन्जिनियरिङ तिर पनि २०-२५  जना ले छात्रवृत्ति पाए अरे. को कता छन् खासै थाहा छैन, तर राम्रै गरेका होलान.

उनि आए पछ अरु बिसयमा पनि पहिले भन्दा राम्रो नतिजा आइरहेको छ. एक  बर्स पहिलेसम्म गणित र अंग्रेजीमा धेरै बिद्यार्थीहरु फेल हुन्थे, तर यसपालि अचम्मै भएछ. गणितमा दुइ जना छाडेर बाकी सबै पास अनि अंग्रेजीमा १० जना फेल. चवन्न जनाले एस एल सी दिएकोमा,५ जना बिसिस्ठ सहित ४२  जना पास. उनि पढाउने विद्यालयका गणित शिक्षकले पनि बर्ष को बिचमा पढाउन छाडेर विदेश  लागे पछी गणित पढाउने जिम्मा पनि उनकै पोल्टोमा परेको थियो. तर अचम्म, बद्रि सरको कमालले पहिले भन्दा झन धेरै पास भए.

बेला बेलामा गाउँका अगुवाहरु भन्ने गर्थे बद्रि सर तपाइँलाई त सरकार ले तक्मा दिनु पर्छ. बद्री पनि मुसुमुसु हास्दै जवाफ दिन्थे मेरो तक्मा भनेको त मेरा असल बिद्यार्थी हुन्. जब मेरा बिद्यार्थी डाक्टर, इन्जिनियर, बैज्ञानिक, शिक्षक आदि बन्छन, मैल आफ से आफ तक्मा पाईहाल्छु, असल मान्छे मात्रै बने भने पनि मैले तक्मा पाए बराबर हो. म जस्ता शिक्षक त यो देशमा सैयौं होलान के सबैले तक्मा पाउन सम्भव छ र ? रास्ट्रीय  तक्मा पाउन त निक्कै मिहिनेत गर्नु पर्छ... अरुले अनुकरण गर्न सक्ने हुन् पर्छ.

हुन पनि तक्मा पाउनेहरुको लिस्ट हेरियो. प्राय मन्त्रि, सचिव, सिडियो, जिउँदा वा मरेका  नेताले तक्मा पाएका रैछन. प्राय काठमाडौँमा बस्ने र काठमाण्डौंमै काम गर्ने हरुले तक्मा पाएका रैछन केहि राम्रा भनेर सुनिएका नाम हरु रैछन, भ्रस्ट घुसखोरी भनेर पत्रिकाले बेलाबेलामा छाप्ने नाम हरु पनि रैछन, कति नामहरु त कहिले नसुनेकाहरु पनि रैछन त्यो लिस्टमा. किन तक्मा पाए केवल दिनेलाई मात्रै थाहा होला अथवा पाउनेलाई थाहा होला.  किन तक्मा दिएको भनेर भन्न नपर्ने रैछ.

हुन पनि बद्रि सर न कुनै नेता को चाप्लुसी गर्थे, न काठमाडौँमा हाकिमहरुका चाकरीमा लाग्न गएका थिय. उनि त दिनभरी स्कूल पढाउँथे, बिद्यार्थीलाई प्रेरणा दिन्थे अनि साँझमा फुर्सद निकालेर टिउसन पढाउँथे, दुई चार पैसा जोगाउन. सायद त्यसैले होला  फेरी यसपाली पनि बद्री सरहरू त्यो लिस्ट मा अटाएनछान.